कोशी प्रदेश सरकारमा नेकपा एमालेका दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्। सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतम स्वास्थ्य राज्यमन्त्री बन्नेछन्। एमालेबाट यसअघि सम्हालिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पाले पाउनेछन्। गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्देन र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक आ-आफ्नै जिम्मेवारीमा यथावत रहनेछन्। नेकपा (माओवादी केन्द्र)ले पर्यटन, वन तथा वातावरण मन्त्रालयमा खिनु लङ्वा लिम्बूलाई पठाउने भएको छ। जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा आउनेछन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज दिउँसो ४ बजेका लागि तय गरिएको छ।
