श्रम विभागद्वारा २ करोड ८३ लाख बढी पारिश्रमिक भुक्तानी
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ बराबरको रोकिएको पारिश्रमिक भुक्तानी गराएका छन्।
भदौ महिनामा दर्ता भएका उजुरी, मेलमिलाप प्रक्रिया र विभागको निर्देशनबाट १ करोड ४३ लाख १२ हजार ३८७ रुपैयाँ ५० पैसाको पारिश्रमिक भुक्तानी भएको छ। श्रमिक र प्रतिष्ठानबीचको आपसी सहमतिबाट ५५ लाख ५७ हजार ७३५ रुपैयाँको भुक्तानी फर्छ्यौट भएको छ।
समीक्षा अवधिमा १४८ व्यक्तिगत र ३ सामूहिक दाबीसहितका उजुरी दर्ता भएका थिए। ६३ वटा श्रम विवाद समाधान गरिएको थियो।
श्रम कानुनको पालना सुनिश्चित गर्न भदौ महिनामा २४८ प्रतिष्ठानको श्रम निरीक्षण र २४४ प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको छ। भदौ मसान्तसम्म कुल ६१९ प्रतिष्ठानको निरीक्षण र ५९५ प्रतिष्ठानमा बालश्रम निरीक्षण सम्पन्न भएको छ। यस अवधिमा ३८६ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएका छन्।
भदौ महिनामा प्रतिष्ठान स्तरका ३ वटा नयाँ ट्रेड युनियन दर्ता भएका छन्। १८ वटाको नवीकरण गरिएको छ। श्रमिक आपूर्तिकर्ता इजाजत पत्रतर्फ ५ वटा नयाँ प्रदान गरिएका छन्। ४७ वटाको नवीकरण भएको छ।
अघिल्लो महिनामा १ वटा औद्योगिक दुर्घटना दर्ता भएको थियो। विभागले सेवाग्राहीलाई ‘पहिलो आउनेलाई पहिलो सेवा’ आधारमा मर्यादित रूपमा सेवा प्रदान गरिरहेको जनाएको छ।
