वैकल्पिक व्यवस्थाबिना बस्ती हटाए देशभर आन्दोलन चर्काउने चेतावनीसहित आइतबार बुटवलमा विशाल प्रदर्शन भयो। सयौँ भूमिहीन तथा अव्यवस्थित बसोबासीले सरकारविरुद्ध नाराबाजी गर्दै प्रतिरोधमा उत्रिने चेतावनी दिए।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भयो। सहभागीहरूले ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँस, बासको सुनिश्चितता गर’, ‘डोजर आतंक बन्द गर’, ‘गरिबलाई बाँच्न दे’ भन्दै नारा लगाए। प्रदर्शनकारी बुटवलको राजमार्ग चौराहाबाट ट्राफिकचोक पुगेर कोणसभा गरे।
संघर्ष समितिका अगुवाहरूले वैकल्पिक व्यवस्थाबिना गरिब बस्तीमा डोजर चलाउनु अन्यायपूर्ण हुने बताए। उनीहरूले नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरे। समस्या समाधान नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए।
संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेलले सरकारले नागरिकमाथि अमानवीय व्यवहार गरेको आरोप लगाए। उनले दीर्घकालीन योजना र विकल्पबिनै गरिबका घरटहरा भत्काएर उठीबास लगाउन खोजिएको बताए। यसैले आन्दोलनमा उत्रिन बाध्य भएको पौडेलको भनाइ छ।
पौडेलका अनुसार देशभर १२ लाख परिवार वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउने सरकारी तयारीबाट प्रभावित छन्। सरकारले दमनकारी शैली नरोके आन्दोलन अझ कडा हुने उनले चेतावनी दिए।
संघर्ष समितिका अर्का अगुवा वीरेन्द्र विकेले सार्वजनिक जग्गा संरक्षणका नाममा गरिब र निमुखा नागरिकमाथि अन्याय भएको दाबी गरे। उनले गरिबलाई विस्थापित गर्नेभन्दा रोजगारी र राहत दिनुपर्नेमा जोड दिए।
विकेले २०२८ सालदेखि बसोबास गर्दै आएका बस्तीलाई राज्यले वैधानिकता दिन नसकेको बताए। उनले दीर्घकालीन समाधान खोज्न आग्रह गरे। अर्का अगुवा नरेन्द्र दर्जीले राज्यले वर्षौंदेखि भूमिहीन र सुकुम्बासीबाट कर उठाए पनि जग्गाधनी पुर्जा नदिएकोमा आक्रोश व्यक्त गरे।
बागमती प्रदेशबाट सहभागी प्रतिनिधि लीजा राईले गरिबका भोटले सत्तामा पुगेकाहरूले डोजर आतंक नरोके नैतिक अधिकार गुमाउने चेतावनी दिइन्। जनता रहे सरकार रहने, जनताको साथ गुमे सत्ता नटिक्ने कुरा सरकारले बुझ्नुपर्ने उनको भनाइ छ।
अर्का प्रतिनिधि राजु शाहीले गरिब जनताको मतबाट बनेको सरकारले तिनै नागरिकमाथि डोजर आतंक मच्चाएको आरोप लगाए। उनले काठमाडौंका सुकुम्बासी बस्तीमा शिक्षा, स्वास्थ्यजस्ता मौलिक अधिकारबाट समेत वञ्चित गराइएको दाबी गरे। देशका अन्य स्थानमा पनि त्यस्तै अवस्था दोहोरिए आन्दोलन अझ सशक्त बन्ने चेतावनी दिए।
आयोजकका अनुसार कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दियासहित २२ जिल्लाबाट भूमिहीन तथा सुकुम्बासी सहभागी थिए। सोमबार बुटवलमै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ।
देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू बुटवल पुगिसकेको आयोजकले जनायो। सम्मेलनले आगामी आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीतिसहित राष्ट्रिय मोर्चा गठन गर्ने तयारी छ।
भूमिहीन तथा सुकुम्बासीहरूले वैकल्पिक व्यवस्थाबिना विस्थापन नगर्न माग गर्दै गत वैशाख २४ गतेदेखि देशभर विरोध कार्यक्रम गर्दै आएका छन्। काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासी त्रसित बनेका छन्।
