क्यान्सर जस्ता गम्भीर रोगका जीवनरक्षक औषधिको बजार अभाव चुलिएपछि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले औषधि व्यवस्था विभागलाई आयातकर्ताहरूको सूची बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले विगत तीन वर्षको आयात परिमाण र वार्षिक खपत दरको विवरण समेत माग गरेको छ।
औषधि आपूर्तिमा देखिएको असहजता समाधान गर्न मन्त्रालय र विभागबीच छलफल भएको थियो। छलफलमा क्यान्सर तथा इम्युनोसप्रेसेन्ट औषधिको मौज्दात र आपूर्तिबारे जनगुनासोको समीक्षा गरियो।
जिम्मेवारी पूरा नगर्ने वा आपूर्तिमा ढिलाइ गर्ने आयातकर्तामाथि कारबाहीका विकल्पमाथि विमर्श भएको छ। स्वास्थ्य मन्त्री निशा मेहता र विभागकी निमित्त महानिर्देशक शिवानी खड्का बैठकमा सहभागी थिए।
बैठकमा विभागको सफ्टवेयर सुधार र क्षमता विस्तारमा जोड दिइयो। वेबसाइट विवरण नियमित अद्यावधिक गर्ने विषयमा पनि छलफल भयो। मन्त्रालयले विभागलाई नियमनमा चुस्त रहन सचेत गराएको छ।
