चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ। यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि यो कदम चालिएको हो।
लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने विद्यमान नियमलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले जाँच र अनुगमन तीव्रता पार्नेछ। चाडपर्वका बेला यात्रु चाप बढ्ने र रातिको समयमा बस सञ्चालन हुने भएकाले चालकको थकानले हुने दुर्घटना रोक्न यो व्यवस्था कडाइ गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।
उनका अनुसार ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ। नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी चलाए प्रचलित कानुनअनुसार कारबाही हुनेछ।
रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकलाई पर्याप्त आराम नपुग्ने र थकानले दुर्घटनाको जोखिम बढाउने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको प्रहरी प्रमुख काफ्लेको भनाइ छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नियम कडाइका साथ लागू गरिने बताए। ‘चालकसहित यात्रुहरूको सुरक्षाका लागि रात्रिकालीन सेवाका सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम छ। त्यसैलाई अब थप कडाइका साथ लागू गर्दैछौँ,’ उनले भने।
दुई चालक भएमा पालैपालो चलाउन सकिने र थकान व्यवस्थापनमा सहयोग पुग्ने प्रवक्ता सुवेदीको अपेक्षा छ।
यसैगरी, लामो दूरीका सवारीसाधनका चालकले मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको विषयमा पनि ट्राफिक प्रहरीले कडाइका साथ जाँच गर्नेछ। सवारी सञ्चालन गर्नुअघि र यात्राका क्रममा चालकको अवस्था जाँच गरी जोखिम नियन्त्रण गरिने प्रवक्ता सुवेदीले बताए।
चाडपर्वमा सार्वजनिक यातायातमा यात्रु चाप बढ्ने, टिकटको माग उच्च हुने र सवारी आवागमन बाक्लिने भएकाले यात्रु सुरक्षा र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखी विशेष अभियान थालिएको हो।
कार्यालयले चाडपर्व लक्षित अभियानमा सवारीसाधनको अवस्था, चालकको योग्यता र नियम पालना भए–नभएको विषयमा पनि निगरानी गर्नेछ। यात्रुलाई सुरक्षित यात्रा गराउने, दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगी रोक्ने यस अभियानको उद्देश्य हो।
यसका लागि दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको उपस्थिति बढाइनेछ। मुख्य सडक, बढी आवागमन हुने क्षेत्र र लामो दूरीका सवारीसाधन सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच र अनुगमन गरिनेछ।
चाडपर्वका बेला यात्रु ठगी हुन नदिन पनि ट्राफिक प्रहरीले निगरानी गर्नेछ। निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने र यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले ट्राफिक नियम पालनाका साथै यात्रुले पनि सावधानी अपनाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ। लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको सुरक्षामा ध्यान दिनु आवश्यक छ।
चाडपर्वमा सडकमा सवारीसाधनको चाप र यात्रु आवागमन बाक्लिने भएकाले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको हो। अभियानमार्फत सडकमा प्रहरी उपस्थिति बढाएर यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने लक्ष्य छ।
