नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आगामी चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायात व्यवस्थापनमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिअनुसार, चाडपर्वमा यात्रुहरूको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न यो निर्देशन दिइएको हो।
देशभर भारी वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै यात्रु सुरक्षालाई विशेष ध्यान दिइएको छ। यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि र सम्बन्धित उपभोक्ता संस्थाहरूबीच प्रभावकारी अनुगमनका लागि सहकार्य गरिनेछ।
महासचिव गौतमले चाडपर्वका बेला अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै अनलाइन बुकिङलाई प्राथमिकता दिनुपर्ने बताए। यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारीसाधन सञ्चालन गरिनेछ।
उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ। यातायात व्यवसायी, कम्पनी तथा संस्थाहरूले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ।
अनधिकृत काउन्टर र परिचयपत्र वा पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न पनि महासङ्घले निर्देशन दिएको छ। यात्रुहरूले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने, मादक पदार्थ सेवन गरी यात्रा गरेमा कारबाही हुने र आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्र टिकट लिनुपर्नेमा जोड दिइएको छ।
सवारी चालक र कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका स्थानमा मात्र यात्रुलाई खाना तथा खाजा खुवाउनुपर्नेछ। बाढीपहिरो र सडक अवरोधको सम्भावनालाई ध्यानमा राख्दै मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण, मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
चाडपर्व अवधिमा आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्नेछन्। यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ र ठूला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग छलफल गरी समयमै सूचना जारी गरिनेछ।
यस्तै, लामो दूरीमा चल्ने सवारीसाधनमा चालकको स्वास्थ्य अवस्था जाँच गर्ने, बिरामी चालकको सट्टा अर्को व्यवस्था गर्ने र कम्तीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्न पनि आग्रह गरिएको छ। १८ वर्षभन्दा कम उमेरका नाबालकलाई चालक वा अन्य काममा नलगाउन निर्देशन दिइएको छ। चाडपर्वमा सवारी चाप र दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रभावकारी अनुगमन र निगरानी गरिनेछ।
महासङ्घले चाडपर्व नजिकिँदै गर्दा सडक र मौसमको अवस्थाबारे थप छलफल गरी अग्रिम टिकट खुला गर्ने मिति र समयबारे पछि सूचना जारी गर्ने जनाएको छ।
