नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि मदन भण्डारी फाउन्डेसनले विराटनगरमा औपचारिक कार्यक्रम गरी प्रश्न उठाएको छ। फाउन्डेसनका केन्द्रीय अध्यक्ष डोरमणि पौडेलले उद्घाटन गरेको सुशासन, समृति र दिगो विकास विषयक कार्यशालामा पार्टी नेतृत्वको कार्यशैलीमाथि बढी छलफल भएको सहभागीले बताए।
कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित कार्यशालामा अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध वैचारिक र सांगठनिक रूपमै आलोचना भयो। पार्टीभित्र अल्पमतमा पर्दै गएका ओलीविरुद्ध फाउन्डेसनलाई मञ्च बनाएर संगठित शक्तिलाई वडा तहसम्म विस्तार गर्ने योजना छ।
सुबोध राज प्याकुरेलले प्रस्तुत गरेको ‘आजको एमालेः चुनौती र समाधान’ शीर्षकको कार्यपत्रले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्वको स्वेच्छाचारिताबारे गम्भीर प्रश्न उठायो। प्याकुरेलले नेतृत्वमा निरंकुशता हाबी भएको उल्लेख गर्दै ‘नयाँ पुस्ताको एमालेः जनतातर्फ, जरातर्फ’ को नारा अघि सारे।
उनले पार्टीभित्र खुल्ला विमर्शको परम्परा अन्त्य भएको, नेतृत्वकर्ताहरू आदेशकर्ता बनेको र जनवर्गीय संगठनहरूको स्वायत्ततामा हस्तक्षेपले आकर्षण घटाएको औंल्याए। प्याकुरेलको कार्यपत्रले एमाले ‘मन जित्ने कि मत जित्ने ?’ भन्ने दोसाँधमा रहेको विश्लेषण गर्यो। पार्टी पुनर्जागरणका लागि दुई कार्यकालको सीमा, उम्मेदवार चयनमा प्राइमरी निर्वाचन र भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता आठ नीतिगत सुधारको प्रस्ताव गरियो।
कार्यक्रममा सहभागी नेताहरूले अध्यक्ष ओलीको आलोचनामा कडा शब्द प्रयोग गरे। फाउन्डेसनका प्रदेश उपाध्यक्ष विजय राईले ओलीलाई नै नेतृत्वमा राखिरहे नेपालको कम्युनिस्ट आन्दोलन भारतको पश्चिम बंगालको ‘सीपीएम’ जस्तै समाप्त हुने चेतावनी दिए। ‘हामीले समयमै नेतृत्वको कार्यशैली सुधारेनौँ भने हाम्रो हविगत बंगालको कम्युनिस्टको जस्तै शून्यमा झर्ने निश्चित छ,’ राईले भने।
अन्य सहभागीले पार्टीको सुशासनको नारा ‘हात्तीको देखाउने दाँत’ मात्र भएको टिप्पणी गरे। सरकारी कोषबाट विदेशमा उपचार गराएका नेताहरूको रकम पार्टी कोषबाट फिर्ता गरिएको विषयमा पनि आपत्ति जनाइएको थियो। यसअघि एमालेको सचिवालय बैठकमा पनि ओलीविरुद्ध बहुमत नेताहरूले धारणा राखेका थिए।
फाउन्डेसनलाई बौद्धिक छलफलको थलो मात्र नबनाई ओलीविरुद्धको सांगठनिक शक्तिका रूपमा विकास गर्ने योजना छ। फाउन्डेसनको नेटवर्किङ वडा तहसम्म विस्तार गरिनेछ। यसलाई एमालेभित्रको समानान्तर शक्तिका रूपमा स्थापित गर्ने रणनीति छ। आजको भेलाले मदन भण्डारीको विचारलाई जबज (जनताको बहुदलीय जनवाद) को मर्मअनुसार अघि बढाउने निष्कर्ष निकाल्यो।
कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्यहरू जीवन घिमिरे, ऋषिकेश पोखरेल, नेता विनोद ढकाल लगायत सहभागी थिए। विराटनगरमा सम्पन्न कार्यक्रमबाट गोपाल गुरागाईँको संयोजकत्वमा ३७ सदस्यीय तेस्रो प्रदेश अधिवेशन आयोजक कमिटी पनि चयन गरियो।
