सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन भएपछि धनुषाको जनकपुरधाम र सप्तरीको राजविराजमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युपछि मधेसका यी प्रमुख सहरहरू शान्त देखिएका छन्।
कप्तानगञ्ज घटनाको विरोधमा भएको प्रदर्शनले धनुषाको जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। कर्फ्यु लागेपछि बजार, पसलहरू पूर्ण रूपमा बन्द छन्। सडकहरू सुनसान देखिएका छन्। सुरक्षालाई मध्यनजर गर्दै ती स्थानहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
दुई समुदायबीच तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा बिहीबारदेखि नै कर्फ्यु आदेश जारी भएको थियो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको र चारैतिर सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका छन्।
साउन १४ गते बिहान सडक जाम, बजार बन्द, तोडफोड र आगजनीका घटनाहरू सुरु भएपछि स्थानीय प्रशासन ऐन अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। प्रमुख जिल्ला अधिकारी लुइँटेलले सामाजिक सञ्जालमा गलत, भ्रामक र अफवाह फैलाउने सूचनाहरू सम्प्रेषण गरेर समाजलाई थप उत्तेजित वा आन्दोलित नबनाउन आम नागरिकहरूलाई अनुरोध गरेका छन्।
