नेकपाको असन्तुष्टिका कारण मधेश प्रदेश सरकार विस्तार रोकिएको छ। शपथ लिन बोलाइएका नेकपा एमालेका तीन प्रस्तावित मन्त्री सहमति जुट्न नसक्दा बिनाशपथ फर्किएका छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेबाट शारदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई मन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी गरेका थिए। उनीहरूलाई आज साँझ ५ बजे शपथका लागि बोलाइएको थियो।
नेकपाभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न तीन दलबीच झन्डै अढाइ घण्टा वार्ता चलेको थियो। सो वार्ताले १३ बुँदे सहमति खाका तयार पारेको छ। यसअघि नौ बुँदे सहमति भए पनि त्यसलाई औपचारिकता दिइएको थिएन।
नयाँ १३ बुँदे सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजनाहरू समावेश नगर्ने, खुला प्रतिस्पर्धाबाट योजना कार्यान्वयन गर्ने, मन्त्रालयको संख्या ९ मा सीमित राख्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने र म्याद सकिएका उपभोक्ता समितिका सम्पूर्ण चिठ्ठीहरू रद्द गर्ने विषय समेटिएका छन्।
यो सहमतिमा हस्ताक्षर भएपश्चात् मंगलबार दिउँसो २ बजे एमालेका तीन सदस्यसहित नेकपाबाट अर्थमन्त्रीको समेत नियुक्त गरी शपथ ग्रहण गराउने तयारी छ।
