सिरहाको गोलबजारमा प्रहरी गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले घर बनाइदिने भएको छ ।
मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारका लागि दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिनेछ ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार यससम्बन्धी सहमति भएको छ ।
मृतकका बुवा रामबृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय अगुवाहरूको उपस्थितिमा लिखित सहमति भएको हो ।
घटनालगत्तै परिवारलाई भेटेपछि मन्त्री सिंहले सरकारको उपस्थिति देखाउन घर बनाउने प्रस्ताव प्रदेश सरकारको बैठकमा राखेका थिए ।
परिवारले जग्गा उपलब्ध गराए निर्माण कार्य प्रारम्भ हुने मन्त्री सिंहले बताए ।
प्रदेश सरकारले यसका लागि ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवका अनुसार रंगरोगनसहित दुई कोठे भवन, किचेन र शौचालय निर्माण गरिनेछ ।
चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण कार्य सक्ने लक्ष्य छ ।
