मधेश प्रदेशका १३६ स्थानीय तहमा करार प्रयोगशालाकर्मीहरु गत कार्तिक महिनादेखि तलब र सेवा सुविधाबाट वञ्चित भएका छन्। उनीहरुले जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला अगाडि धर्ना र नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
कर्मचारीहरुले ‘कामको मूल्य चाहिन्छ, काम निरन्तर तलब किन बक्यौता?’, ‘तलब देउ ढिलासुस्ती बन्द गर’, ‘हाम्रो हकको भत्ता तत्काल उपलब्ध गर’, ‘चाडपर्व भत्ता देउ’, ‘जोखिम भत्ता देउ’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन्। धनकौल जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी अनिल कुमार महतोका अनुसार व्यक्तिगत स्वार्थ र राजनीतिक फेरबदलका कारण कतिपय कर्मचारीले लामो समयदेखि तलब पाएका छैनन्।
महतोले केही प्रयोगशालाकर्मीको करार नवीकरणसमेत नभएको र नवीकरण नगरी काम गराएर तलब नदिने गरेको गुनासो गरे। उनले सरकारले प्रयोगशाला सञ्चालनका लागि कर्मचारी समायोजन गर्न नसके जनतालाई आश्वासनमा नराख्न प्रदेश सरकारलाई सुझाव दिए।
कर्मचारीहरूको मागमा बाँकी तलब उपलब्ध गराउनुपर्ने, करार नवीकरण नभएकाहरूको नवीकरण गर्नुपर्ने, प्रयोगशालामा आवश्यक रिएजेन्ट, केमिकल लगायतका उपकरणको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने र गुनासो सुन्ने वातावरण निर्माण गर्नुपर्ने जस्ता बुँदाहरू छन्। यी माग पूरा नभएसम्म विरोध जारी राख्ने र काममा नफर्किने चेतावनी उनीहरूले दिएका छन्।
करारका कर्मचारीहरूको आन्दोलनका कारण प्रदेशभरका जनस्वास्थ्य प्रयोगशालाहरूको कामकाज समेत प्रभावित भएको छ।
