मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहीबार जारी विज्ञप्तिमा मुख्यमन्त्री यादवको अध्यक्षतामा बसेको बैठकले नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ।
प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम र व्यवस्थापन गर्ने जनाएको छ।
विज्ञप्तिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, सञ्चारमाध्यम, निजी क्षेत्र र आम नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।
सामाजिक सञ्जाल र अन्य माध्यमबाट कुनै पनि प्रकारका अफवाह, भ्रामक सूचना वा समाजमा द्वेष, हिंसा र अशान्ति फैलाउने सामग्रीको प्रचार–प्रसार नगर्न प्रदेश सरकारले सबै प्रदेशवासीसँग अपिल गरेको छ। आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गर्न भनिएको छ।
मुख्यमन्त्री यादवले हालैका घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशमा शान्ति, सुशासन, कानुनी शासन र नागरिकका संवैधानिक अधिकारको संरक्षणमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका छन्। रातोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले संविधानभन्दा माथि कोही पनि नरहेको र घटनाका दोषीमाथि कानुनी कारबाही हुने भएकाले संयमता अपनाउन आग्रह गरेका थिए। उनले आन्दोलनका नाममा हुने तोडफोड र विध्वंसले देशप्रति नकारात्मक दृष्टिकोण बन्ने भन्दै शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको बताए।
