मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का प्रदेशस्तरीय नेताहरूले बताएका छन्। केन्द्रमा पाँच दलीय सरकार गठनका सन्दर्भमा सहमति जुटे पनि मधेस प्रदेशबारे कुनै ठोस निर्णय नभएको अवस्थामा यी दलहरूले कांग्रेससँगको सहकार्यलाई कायम राख्ने संकेत दिएका हुन्।
मधेस प्रदेशका अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने बताए। केन्द्रबाट पनि सोही निर्देशन आएकाले मधेसमा तीन दलको गठबन्धन सरकारले निरन्तरता पाउने उनको दाबी छ। भट्टराईले प्रदेशका तीनवटै दल आपसमा सहकार्य गर्न सहमत रहेको र कुनै मनमुटाव नरहेको उल्लेख गरे।
मन्त्री भट्टराईले जनताको मुख्य चाहना सुशासन भएको र भर्खरै बजेट ल्याएकाले सरकार परिवर्तनमा आफ्नो पार्टी नलाग्ने जिकिर गरे। ८-१० महिनापछि स्थानीय तह र प्रदेश सभाको चुनाव हुने भएकाले बारम्बार सरकार परिवर्तन गर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै उनले यही सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
मधेस प्रदेशका एमाले सांसद दिपेन्द्र ठाकुरले पनि वर्तमान सरकार कायम रहने प्रस्ट पारे। जनताले खोजेको डेलिभरी अहिलेको सरकारबाट प्राप्त भइरहेको र सरकार ढाल्ने र बनाउने काममा नलाग्ने बताए। राजनीतिक स्थिरता, विकास निर्माण र सुशासनमा आफ्नो पार्टीले ध्यान दिएको दाबी गर्दै उनले केन्द्रबाट पनि सोही अनुसार निर्देशन आएको बताए।
कांग्रेसका मधेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कुवरकान्त झाले पार्टी सभापति गगन थापाले प्रदेशमा सरकार जोगाउन आफैँ गर्न निर्देशन दिएको सुनाए। सत्ता साझेदार दलहरूबीच कुनै खटपट नभएको जिकिर गर्दै उनले मधेस सरकारलाई अहिले कुनै खतरा नरहेको स्पष्ट पारे।
