मधेस प्रदेशका किसानले धान भित्र्याउने तयारी गरिरहँदा आगामी साता बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण भारी वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। यस प्रणालीका कारण अधिकतम र न्यूनतम तापक्रम दुवै घट्ने सम्भावना रहेकाले चिसो बढ्ने मौसमविद्हरूले बताएका छन्।
विभागका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा न्यूनचापीय प्रणालीको प्रभाव देखिनेछ।
मधेसमा वर्षा र किसानको चुनौती
तराईका भू-भागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना नरहे पनि साताको अन्त्यमा भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिएका छन्।
यो समय धान काट्ने र भित्र्याउने मुख्य सिजन भएकाले मधेसका किसानहरू थप चिन्तित बनेका छन्। मौसमविद्ले सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्न सुझाव दिएका छन्। मधेस प्रदेशका सहरी तथा तराई क्षेत्रमा भारी वर्षा हुँदा डुबानको जोखिम पनि उच्च रहन सक्ने सम्भावना छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको चेतावनी
साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपात हुनसक्छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ। साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।
पहाडी भू-भागमा वर्षा र यात्रामा सावधानी
पहाडी भू-भागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साताको अन्त्यमा भने पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मनसुनपछिको यो समय पदयात्रा (ट्रेकिङ) र पर्यटकीय भ्रमणको मुख्य सिजन भएकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिमपात र पहाडी भूभागमा पहिरोको जोखिम रहने भएकाले यात्रामा रहेका वा जाने तयारी गरिरहेका पर्यटक तथा यात्रुहरूलाई जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचना अनुसार मात्र आफ्नो यात्राको तालिका तय गर्न अपिल गरिएको छ।
नेपाल मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जाने जनाएको छ। मौसम पूर्वानुमानमा अझै परिवर्तन हुन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्ने मौसमविद्ले बताएका छन्।
