सुनसरीको देवानगञ्जमा प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि फैलिएको तनाव मधेश प्रदेशका मुख्य जिल्ला सदरमुकाम तथा बजार क्षेत्रसम्म पुगेको छ। प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनाले थप आक्रोशित रूप लिएको छ। यसको प्रभाव धनुषा, पर्सा र सिरहामा प्रत्यक्ष देखिएको छ। जनकपुरधाम, वीरगञ्ज र गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो। सिरहामा प्रदर्शनका क्रममा एक किशोरको मृत्यु भएको छ। आगजनी, तोडफोड र झडपका घटनाले सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार सूचना जारी गर्दै वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञाबारे जानकारी गराएका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले उनलाई दिउँसो १:२४ बजे मृत घोषणा गरेका हुन्। यससँगै देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए।
प्रदेश राजधानी जनकपुरधाममा सुरक्षा अवस्था बिग्रिन सक्ने आकलनपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-क बमोजिम कर्फ्यु लागू गरिएको हो। यसअघि बिहानैदेखि रामानन्द चोक क्षेत्रमा हिन्दूवादी समूहले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए। प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।
कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारको भेला गर्न रोक लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। जनकपुरधाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत उच्च सतर्कतामा राखिएको छ।
सुरक्षा अवस्था थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार साउन १४ गते दिउँसो २ बजेदेखि कर्फ्यु कायम रहनेछ। कर्फ्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ को कहरहा खोलादेखि चौर्हवा चोकसम्म तथा सैनिक चोकदेखि राजकीय प्राविधिक बहुमुखी क्याम्पस आसपासका क्षेत्रमा लागू गरिएको छ।
गोलबजारमा प्रदर्शनका क्रममा भएको झडपमा गोली लागेर औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्। घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर प्रदर्शन गरेका छन्। प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरेको दाबी गरेको छ।
सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा गोलबजारस्थित एबी मलमा आगजनी गरिएको छ। त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। यस्तै जिल्लाका विभिन्न स्थानमा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। दमकलले आगो नियन्त्रणमा लिए पनि क्षेत्रको तनाव कम हुन सकेको छैन।
