NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महोत्तरीका महिला: सहकारीको जगमा कृषि उद्यमी बन्दै

महोत्तरी, सर्लाही, रौतहटका महिला सहकारीमार्फत पशुपालन, तरकारी खेती र कृषि उत्पादन बिक्रीमा सफल उद्यमी बनेका छन्। हेफर इन्टरनेसनलको सहयोगले उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण भएको छ।
Kamala Devi
Kamala Devi
3 June 2026, 9:48 am १ मिनेट पढाइ
आकार:
Share:

महोत्तरीको बर्दिबास–१० र ११ मा कार्यक्षेत्र रहेको ज्योति महिला सामाजिक उद्यमी सहकारीका सदस्यहरू अहिले दूधका लागि गाई/भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन र उपभोक्ता पसल सञ्चालनमा व्यस्त छन्। सहकारीले पशुपालन प्रवद्र्धनका लागि जई, मेण्डोला, स्टाइलो, नेपियर र डालेघाँसको बीउ उत्पादन पनि गर्दै आएको छ। सहकारीका सचिव सरस्वती विश्वकर्माले यस वर्ष एक हजारभन्दा बढी खसी बिक्री गरिसकेको र तीन हजारभन्दा बढी खसी पालिएको बताइन्। २५ महिलाबाट सुरु भएको यो सहकारीमा अहिले एक हजार ३७८ सदस्य पुगेका छन्।

सर्लाहीको हरिपुर महिला सामाजिक उद्यमी सहकारीले सदस्यहरूलाई भैँसीपालनमा ऋण सहयोग गरी दूध उत्पादन बढाएको छ। हरिपुर सहकारीले दूध सङ्कलनका लागि पाँच केन्द्र स्थापना गरेको छ। २०६७ सालमा स्थापित यस सहकारीमा ८७४ सदस्य छन् र यसको कुल कारोबार सात करोड नाघेको छ। अध्यक्ष मञ्जु चौधरी थारुका अनुसार, सदस्यहरूको बचत तीन करोड नौ लाख २८ हजार छ। सहकारीले दूधका लागि भैँसीपालन र बाख्रापालनलाई मुख्य काम बनाएको छ। यसपालि बकर इदमा दुई हजार ५०० खसी बिक्री भएको र गत फागु र दसैँमा गरी तीन हजार खसी बिक्री भएको उनले बताइन्। सहकारीले सदस्यहरूको घरबाट दूध किनेर प्रशोधन गरी बिक्री वितरण पनि गर्छ।

सर्लाहीकै लालबन्दी–१६ न्यू उदय महिला सामाजिक उद्यमी सहकारीका सदस्यहरूले गाई, भैँसीपालन गरी कृषि फार्म सञ्चालन गरेका छन्। २०७८ सालमा २५ सदस्यबाट सुरु भएको यो सहकारीमा अहिले एक हजार ३० सदस्य पुगेका छन्। व्यवस्थापक शर्मिला मोक्तानले विदेशबाट फर्किएका युवालाई कृषिमा जोड्न विशेष योजना ल्याइएको बताइन्। यो सहकारीले पछिल्लो एक महिनामा एक हजार २०० खसी बिक्री गरेको छ भने ८०० लिटरसम्म दूध सङ्कलन गरी दुग्धजन्य पदार्थ उद्योग सञ्चालन गरेको छ।

रौतहटको गजुरा–३ मा आरम्भ महिला सामाजिक उद्यमी सहकारीले खसीपालन, मासु बिक्री वितरण र निगुरोको साग बिक्रीबाट राम्रो आम्दानी गरिरहेको छ। ३५४ महिला आबद्ध यो सहकारीले चालु आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ५०० खसी बिक्री गरेको अध्यक्ष पुनम चौधरी थारुले बताइन्।

महिलाहरूले सहकारीमार्फत कृषि कार्यमा देखाएको चासोमा परिवारजनको साथ र सहयोग पाइरहेको उद्यमी महिलाहरूको अनुभव छ। अवसर र सहयोग पाएमा महिलाहरूले जुनसुकै काम पनि व्यवस्थित रूपमा गर्न सक्छन् भन्ने कुरा मधेसका महिला उद्यमी सहकारीहरूले प्रमाणित गरेका छन्।

हेफर इन्टरनेसनलले सहकारीमा आबद्ध महिलाहरूलाई व्यवसाय विस्तार र दिगोपनाका लागि आवश्यक साझेदारी र लगानीका अवसर खोज्न समन्वय गरिरहेको छ। हेफरको जनकपुर क्षेत्रीय कार्यालयले पूर्वी नेपालका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीलाई सहयोग गरिरहेको छ, जसमध्ये मधेसका छ जिल्ला छन्। यी १२ जिल्लामा कूल ६२ हजार महिला आबद्ध छन्, जसमध्ये मधेसका २० हजारभन्दा बढी महिला छन्।

मंगलबार बर्दिबासमा सम्पन्न योजना तथा लगानी सम्मेलनमा सहकारी प्रतिनिधिहरूले हालसम्मको कामको समीक्षा गरी भावी योजना प्रस्तुत गरेका थिए। यस सम्मेलनको मुख्य उद्देश्य व्यवसाय वृद्धि योजना तयार गर्ने, नवीन सोच र उद्यमशीलता विकास गर्ने तथा लगानीकर्तासम्म पहुँच बढाउने रहेको महिला सामाजिक उद्यमी सञ्जाल बागमती प्रदेशकी उपाध्यक्ष होमकुमारी ठकुरीले बताइन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार