महोत्तरी प्रहरीले बालक अपहरण प्रयासका फरार प्रतिवादी नवराज अधिकारीलाई रौतहटबाट पक्राउ गरेको छ। अधिकारी गढीमाई नगरपालिका–७ का २३ वर्षीय हुन्।
गत वैशाख ७ गते दिउँसो तीन अपरिचित व्यक्तिले नम्बर प्लेट नखुलेको मोटरसाइकलमा ८ वर्षीय बालकलाई अपहरण गरी भाग्ने प्रयास गरेका थिए। बालकको चिच्याहट सुनेपछि स्थानीयले रोक्न खोज्दा अपहरणकारी बालकलाई छाडी फरार भएका थिए।
प्रहरीले घटनामा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको छ। अधिकारीलाई जेठ १५ गते महोत्तरीबाट खटिएको टोलीले रौतहटको गौर नगरपालिका–५ स्थित हस्पिटल चोकबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ। प्रहरी नायब उपरीक्षक पन्च लाल गोलेले घटनाबारे अनुसन्धान जारी रहेको बताए।
