मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

यो शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि २९ टोलीका ३४८ आरोहीले अनुमति पाएका छन्। हिमाल आरोहणबाट पर्यटन विभागले १५ करोड ९६ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ। मनास्लु हिमाल संसारको आठौँ अग्लो हिमाल हो र यसलाई 'किलर माउन्टेन' पनि भनिन्छ।
Prakash Gurung
खेलकुद संवाददाता
१ मिनेट पढाइ
आकार:
मनास्लु आरोहण
Share:
१४९

यो शरद ऋतुमा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीका ३४८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस सिजनमा हिमाल आरोहणबाट १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।

विभागको पछिल्लो तथ्याङ्कअनुसार, कुल ३२ टोलीका ३६७ जनाले हिमाल चढ्न अनुमति लिएका छन्। मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोहीले अनुमति पाएका हुन्। मनास्लु आरोहणबाट मात्र १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

गोरखाको चुमनुब्री गाउँपालिका-१, सामागाउँमा रहेको आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा आरोहीको आकर्षण बढेको छ। शेर्पाहरूले आरोहणका लागि क्याम्प निर्माण र बाटो बनाउने काम गरिरहेका छन्। आरोहीहरू सेप्टेम्बर ७ पछि बेसक्याम्प आइपुग्नेछन्।

सामागाउँ आरोही र उनीहरूका सहयोगीले भरिभराउ छ। मनास्लु हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो। यसलाई ‘किलर माउन्टेन’ का रूपमा पनि चिनिन्छ।

सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा रहेको बेसक्याम्प आरोहीको रोजाइमा पर्छ। आरोहीहरूले चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्मको समय लिने गरेका छन्। सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लुको सफल आरोहण गरेका थिए।

Prakash Gurung

Prakash Gurung

खेलकुद संवाददाता

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार