भक्तपुरको मनहरा क्षेत्रबाट वैकल्पिक व्यवस्थापनबिना विस्थापित सुकुम्वासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्। बस्तीमा डोजर चलाएको चार महिना बितिसक्दा पनि सरकारले व्यवस्थापनमा चासो नदेखाएको भन्दै पीडित परिवारहरूले भदौ १२ गतेसम्म माग पूरा नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको तीन मुख्य माग
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको अगुवाइमा भक्तपुरमा आयोजित कोणसभाले सरकारसमक्ष आवास अधिकार, भूस्वामित्व र सामाजिक न्यायका लागि तीन मुख्य माग अघि सारेको छ। मोर्चाको माग छ कि विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गरियोस्। घरटहरा र सामान भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिइयोस्। प्रभावित परिवारसँग तत्काल संवाद गरी समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गरियोस्।
होल्डिङ सेन्टर र लगत संकलनमा जोड
मोर्चाले होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधान नभई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राख्नुपर्ने बताएको छ। होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गरिनुपर्छ। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढाउन पनि आग्रह गरिएको छ।
चरणबद्ध आन्दोलन र सत्याग्रहको चेतावनी
मोर्चाले साउन २२ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। यसअन्तर्गत विभिन्न स्थानीय तह तथा भूमि समस्या समाधान समितिका कार्यालयमा ज्ञापनपत्र बुझाउने, राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउने, भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गर्ने र भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।
मोर्चाका अनुसार थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा र जडीबुटीलगायतका क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्थापन र कानुनी प्रक्रिया पूरा नगरी बलपूर्वक विस्थापित गरिएको थियो। मोर्चाका इन्चार्ज दल मर्दन कामी, अध्यक्ष कुमार राई र सचिव अरुण बस्नेतले जारी गरेको घोषणापत्रमा आवासलाई संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्दै सम्मानजनक भूस्वामित्वसहितको पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
भदौ १२ गतेसम्म माग पूरा नभए अनिश्चितकालीन सत्याग्रह
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भदौ १२ गतेसम्म आफ्ना मागहरू पूरा नभएमा अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेको छ। यो घोषणाले सरकारलाई तत्काल सुकुम्बासीहरूको पुनर्स्थापना र उचित व्यवस्थापनका लागि दबाब सिर्जना गरेको छ।
