इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकको उक्त खण्ड भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विगत चार दिनदेखि नै ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइए पनि सडक थप भासिएपछि सोमबारदेखि सबै सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको हो। यसका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ।
वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन र केचना–कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख भवन भट्टराईले जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि सिभिल संरचना तयार भए पनि भारत सरकारबाट आउनुपर्ने सामग्री नआउँदा समस्या समाधानमा ढिलाइ भएको बताए।
यसैगरी, कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले मोदी खोलाको पानीको सतह बढाउँदा नदी किनारका दुई घर र एक रेष्टुरेन्टमा क्षति पुगेको छ। अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ भने स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको छ।
बाढीले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने किम्रुङ खोलामाथिको झोलुङ्गे पुलसमेत बगाएको छ। यसले स्थानीय बासिन्दा र पर्यटकको आवतजावतमा पूर्ण रूपमा प्रभावित पारेको छ। गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले लेदोसहितको बाढीले मोदी खोलामा पानीको सतह बढाउँदा क्षति पुगेको जानकारी दिए। मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पनि पूर्ण रूपमा बन्द भएको छ।
