ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले काठमाडौंको थापाथली क्षेत्रमा अव्यवस्थित विद्युत् र दूरसञ्चारका तारको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन्। मंगलबार राति थापाथलीमा तारमा आगलागी भएपछि मन्त्री श्रेष्ठले घटनाको गम्भीरतालाई मध्यनजर गरी सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानका लागि कदम चालेका हुन्।
मन्त्री श्रेष्ठले बुधबार घटनास्थलको स्थलगत निरीक्षण गरी अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै समस्या समाधानमा ढिलाइ गर्न नहुने बताए। नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले यस्ता समस्याको स्थायी समाधानका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए।
मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका र अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय सुरु भएको छ। उनले जोखिमपूर्ण अवस्थामा रहेका तारको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने पनि स्पष्ट पारे। स्थानीयवासीले पनि थापाथलीसहित राजधानीका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
