विश्वव्यापी ऊर्जा संकट र मध्यपूर्वको तनावले भारतीय अर्थतन्त्रमा गम्भीर दबाब बढाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन, ग्यास र सुनको खपत घटाउन नागरिकलाई अपिल गरेका छन्। उनले छिमेकमा जारी युद्ध र मध्यपूर्वको तनावका कारण विश्वभर इन्धनको मूल्य बढेको र यसको ठूलो असर भारतीय अर्थतन्त्रमा परेको बताएका छन्।
आइतबार हैदरावादमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भारतसँग तेलका ठूला कुवाहरू नभएकाले यो वैश्विक संकटको सामना गर्न वैकल्पिक उपायहरू अपनाउनुपर्नेमा जोड दिए। उनले यस क्रममा ९ अर्ब ४० करोड भारतीय रुपैयाँ बराबरका परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गरेका थिए।
प्रधानमन्त्री मोदीले नागरिकहरूलाई ‘वर्क फ्रम होम’ जस्ता उपाय अपनाउन र मेट्रो रेल सुविधा भएका सहरमा सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह गरे। इन्धन बचाउनका लागि अनावश्यक सवारी साधनको प्रयोग नगर्न, सम्भव भएसम्म कार पुलिङ गर्न र धेरैभन्दा धेरै मानिस एउटै सवारीमा यात्रा गर्न पनि उनले सुझाव दिएका छन्।
इन्धनसँगै मोदीले देशको विदेशी मुद्रा सञ्चिति बचाउनका लागि सुनको खपतमा समेत नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्। उनले आगामी एक वर्षसम्म कुनै पनि कार्यक्रममा सुन खरिद नगर्ने र दान नगर्ने सङ्कल्प लिन अपिल गरेका छन्। सुन आयातमा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भएकाले देशहितका लागि यो कदम आवश्यक रहेको उनको भनाइ छ।
उनले खाने तेलको खपतमा समेत केही कमी ल्याउन परिवारहरूलाई अनुरोध गरेका छन्। खाने तेलको प्रयोग घटाउँदा एकातिर विदेशी मुद्रा बचत हुने र अर्कोतिर मानिसको स्वास्थ्य पनि राम्रो हुने उनको तर्क छ।
कृषि क्षेत्रको प्रसङ्गमा बोल्दै मोदीले रासायनिक मलको खपत आधा घटाउने लक्ष्य राख्नुपर्ने र तीव्र रूपमा प्राकृतिक खेतीतर्फ अघि बढ्नुपर्ने बताए। यसका साथै विश्वव्यापी आर्थिक दबाब र महँगो इन्धनका कारण भारतमा बढ्दो आर्थिक बोझलाई कम गर्न विवाह, बिदा वा अन्य कुनै पनि बहानामा गरिने विदेश भ्रमणहरू केही समयका लागि टार्न उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री मोदीले पछिल्ला वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका अग्रणी देशमध्ये परेको उल्लेख गर्दै पेट्रोलमा इथानोल मिश्रणको काम तीव्र गतिमा अघि बढाइएको बताए। सरकारले देशका हरेक घरमा एलपी ग्यास पुर्याउने कामसँगै अब पाइपबाट सस्तो दरमा ग्यास उपलब्ध गराउने र सीएनजी प्रणाली विस्तार गर्ने काम पनि अघि बढाइरहेको उनको भनाइ थियो।
कार्यक्रममा उनले तेलङ्गनाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीलाई केन्द्रसँग समन्वय गरेर काम गर्न सुझाव दिँदै ‘विकसित भारत २०४७’ को लक्ष्य हासिल गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
