NM Khabar 5 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोरङ कारागारमा १९ कैदीबन्दीको दादागिरी अन्त्य: अभिषेक गिरीका आदेशपालक अन्यत्र सारिने

मोरङ कारागारको बी ब्लकमा अभिषेक गिरीका १९ आदेशपालकले मच्चाएको आतङ्क अन्त्य भएको छ। कैदीबन्दीमाथि यातना र प्रशासनलाई चुनौती दिने समूहलाई नियन्त्रणमा लिई अन्यत्र सारिने भएको छ।
Kamala Devi
Kamala Devi
5 September 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
मोरङ कारागार झडप
Share:

मोरङ कारागारको ‘बी’ ब्लकमा १९ जना कैदीबन्दीबीच झडप भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। कारागार प्रशासनले नियन्त्रणमा लिइएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।

नियन्त्रणमा लिइएका १९ जना नै जेलबाहिरबाट कारागारमा गतिविधि सञ्चालन गर्ने अभिषेक गिरीका आदेशपालक हुन्। उनीहरूले कारागारभित्र आतङ्क सिर्जना गर्ने, कैदीबन्दीलाई यातना दिने र प्रशासनलाई चुनौती दिँदै आएको आरोप छ। उनीहरू अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। स्थानान्तरण प्रक्रिया पूरा नभएसम्म उनीहरू प्रहरी हिरासतमै रहनेछन्।

आज दिउँसो कारागारभित्रै दुई समूहबीच हिंसात्मक झडप भएको थियो। लामो समयदेखि पीडित बनेका कैदीबन्दीले ‘दादागिरी’ गर्ने समूहमाथि आक्रमण गरेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको हो।

स्थानान्तरणको तयारी गरिएकाहरूमा ‘बी’ ब्लकका चौकीदार विशाल निरौला र मुख्य योजनाकार भारतीय नागरिक चञ्चल बर्मा छन्। बर्मा मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्षको सजाय भुक्तान गरिरहेका छन्। उनको कैद अवधि २०८५ सम्म छ।

सूचीमा रहेका अन्यमा प्रेम कटवाल, मनिषकुमार विक, रबिन कामत, राजेश कामत, धर्मेन्द्र राई, तापत पासवान, कार्तिक कामत, कुनाल सिंह, मो. सदाम, अजय पासवान, प्रशान्त भण्डारी, रामकुमार श्रेष्ठ, अनिल भट्टराई, अरवाज शेख, रामकुमार चौधरी, अजय मेहता र नजामुद्दिन मियाँ छन्।

चौकीदार निरौला, बर्मा, मनिष विक र राकेश सिंह गिरी निकटका हुन्। निरौला गिरीका साला हुन् भने मनिष विक उनका सवारीचालक थिए।

कारागार प्रशासनका अनुसार ५ सय ६५ जना क्षमताको ‘बी’ ब्लकमा चञ्चल बर्माको समूहले आफूखुसी नियम चलाउँदै आएको थियो। उनीहरूले सामान्य कैदीबन्दीलाई यातना दिने, भत्ता र आम्दानी कब्जा गर्ने तथा प्रशासनविरुद्ध गतिविधि गर्ने गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

लामो समयदेखि बर्मा र निरौलाको समूहबाट प्रताडित अन्य कैदीबन्दीले आज विद्रोह गरेका थिए। यसअघि प्रशासनले उनीहरूलाई स्थानान्तरण गर्न खोज्दा उनीहरूले भित्रबाट ताला लगाएर छिर्न दिएका थिएनन्। आज पीडित पक्षले नै अराजकता मच्चाउने समूहलाई कुटपिट गरी सुरक्षाकर्मीको जिम्मा लगाएका थिए।

मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले कारागारभित्रको अराजकता स्वीकार्य नहुने बताएका छन्। ‘१९ जनालाई नियन्त्रणमा लिएर जिल्लामा ल्याएका छौँ,’ उनले भने, ‘यस्ता अराजक तत्त्वलाई अब मोरङमा राखिने छैन, उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको छ।’

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै ती १९ जनालाई मोरङ कारागारमा पुनः नफर्काउने निर्णय भएको जानकारी दिए। ‘जेलर आएपछि छलफल गरेर उनीहरूलाई देशका कुन–कुन कारागारमा पठाउने भन्ने अन्तिम निर्णय गरी आजै वा भोलिसम्ममा पठाइसक्नेछौँ,’ उनले भने।

ती १९ जनालाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको अवस्था शान्त छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार