मुस्ताङका ६८ किसान परिवारले पछिल्लो चार वर्षमा २३९ पशुधन गुमाएका छन्, हिउँ चितुवा र ब्वाँसोको आक्रमणले २५ लाख २१ हजार रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको तथ्याङ्कअनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका किसानका पशुधनमा क्षति पुगेको हो।
हिउँ चितुवा, चितुवा र ब्वाँसोको निरन्तर आक्रमणले मुस्ताङको परम्परागत पशुपालन व्यवसाय संकटमा परेको किसानहरू बताउँछन्। यसले उनीहरूलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको छ।
एक्यापका प्रमुख राजेश गुप्ताले दिएको जानकारीअनुसार, हालसम्म ६८ परिवारका २३९ वटा पशुधनमा क्षति पुगेको छ। यसमा १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ घोडा रहेका छन्।
आर्थिक वर्ष २०७९–८० मा ३१, २०८०–८१ मा ५६, २०८१–८२ मा ८६ र चालु आर्थिक वर्षको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पुर्याएको एक्याप प्रमुख गुप्ताले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार एक्याप जोमसोमले पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउँछ।
निर्देशिकाअनुसार याक, चौँरी, घोडा र खच्चडका लागि बढीमा ६० हजार रुपैयाँ राहत दिइन्छ। भेँडाच्याङ्ग्राको हकमा बढीमा १० हजार रुपैयाँसम्म उपलब्ध गराइन्छ।
एक्याप जोमसोमले चार आर्थिक वर्षमा तीन पालिकाका पीडित किसानलाई कुल २५ लाख २१ हजार रुपैयाँ राहत हस्तान्तरण गरिसकेको छ। चालु आर्थिक वर्षको वैशाखसम्मको ५ लाख २९ हजार रुपैयाँ पनि सम्बन्धित पशुधनीको बैंक खातामा पठाइएको छ।
उपल्लो मुस्ताङमा रहेको एक्याप लोमान्थाङ कार्यालयले पनि तीन आर्थिक वर्षमा ४५ लाख ९९ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ। यो रकम वन्यजन्तुबाट भएको पशुधन क्षतिका लागि पीडित पशुधनीको बैंक खातामा पठाइएको हो।
जलवायु परिवर्तनले उच्चलेकका पानीका स्रोत घट्दै गएका छन्, चरनक्षेत्रमा घाँस कम पलाएको छ। वन्यजन्तु आहार पछ्याउँदै बस्ती नजिक झर्न थालेपछि जोखिम बढेको एक्याप प्रमुख गुप्ता औंल्याउँछन्।
पशुपालक किसानका गोठ र खोरहरू गुणस्तरीय नहुँदा वन्यजन्तुले सजिलै पशुधनमा क्षति पुर्याउन सकेको एक्याप कार्यालयले जनाएको छ।
