वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने शिशुलाई प्रहरीले १६ घण्टाभित्रै उद्धार गरेको छ। पर्सा प्रहरीले शिशुसहित बच्चा चोरी गर्ने महिलालाई वीरगन्जको इनर्वाबाट पक्राउ गरेको हो।
प्रहरी प्रमुख पवन भट्टराईका अनुसार रातभर गरिएको अप्रेसनबाट बच्चा लिएर भागेकी महिलालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले बच्चा चोरीको आरोपमा वीरगन्ज इनर्वाकी सबिना खातुनलाई पक्राउ गरेको छ।
आइतबार राति अस्पतालबाट नवजात शिशु चोरी भएको थियो। हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी महिला बेपत्ता भएकी थिइन्। शिशु सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीको शनिबार राति ११ बजे जन्मिएको थियो।
एकदिने शिशु र पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
