देशभरका मुख्य राजमार्गहरू बाढी, पहिरो र सडक मर्मतले प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ८:३० बजेको अपडेट अनुसार यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सूचित गरेको छ।
काठमाडौँ उपत्यका र बागमती प्रदेशका दुई सडक खण्ड मर्मतका लागि एक महिना बन्द भएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो गएपछि सतुंगल–चित्लाङ सडक बन्द छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी हुँदै जाने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक पनि मर्मत गर्नुपर्ने भएकाले एक महिना अवरुद्ध छ। काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमले बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कुटुन्जेबेंसी चल्ने सवारी साधनमा रोक लगाइएको छ।
कोशी प्रदेशका राजमार्गहरू पनि बाढी र पहिरोको चपेटामा छन्। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध पारेको छ। भोजपुर नगरपालिका–५ बोखिममा बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग वैकल्पिक बाटो सहित एकतर्फी सञ्चालनमा छ। संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खस्दा कोशी राजमार्गमा एकतर्फी मात्र यातायात चलिरहेको छ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण धेरै प्रभावित छ। अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगंगा गाउँपालिका–१ उपल्लो बैसरी र रघुगंगा गाउँपालिका–३ तल्लो बैसरीमा खसेको पहिरोले दुईतर्फी यातायात सञ्चालन हुन सकेको छैन।
नेपाल प्रहरीले सडक अवरोधबारे थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित निकायमा सम्पर्क गरी सडकको अवस्था यकिन गर्न प्रहरीले अनुरोध गरेको छ।
