अविरल वर्षा, बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध पारेको छ। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्। ललितपुरको पाण्डुरमा साउन १८ गतेको पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ।
कोशी प्रदेशमा भोजपुरको बोखिममा वैशाख १२ गतेदेखि मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ। इलामको राजदुवालीमा मेची राजमार्ग वैकल्पिक मार्गबाट सञ्चालनमा छ। तेह्रथुमको काँडेमा साउन १८ गतेको पहिरोले मध्यपहाडी लोकमार्ग बन्द गराएको छ।
बागमती प्रदेशमा रातको समयमा सवारी रोकेको छ। काभ्रेको बीपी राजमार्गमा जेठ २२ गतेदेखि रात्रिकालिन सवारीमा रोक छ। मकवानपुरको कान्ति लोकपथमा असार २९ गतेदेखि रात्रिकालिन सवारी बन्द छ। सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा असार ३१ र साउन १ गतेदेखिको पहिरोले अरनिको राजमार्ग बन्द छ।
दोलखाको किर्नेटारमा साउन ७ गतेको बाढीले लामासाँघु-रामेछाप राजमार्ग अवरुद्ध गरेपछि वैकल्पिक बाटो खोलिएको छ। रसुवाको खाल्टेमा साउन ८ गतेको बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक बन्द छ। यो सडक खुल्न लामो समय लाग्ने प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा बागलुङको बेलबगरमा साउन १ गतेदेखि कालीगण्डकी करिडोर एकतर्फी सुचारु छ। गोरखाको अण्डर डाँडामा साउन १६ गतेको पहिरोले लार्के-बेनीघाट सडक बन्द छ।
मनाङको धारापानीमा साउन १७ गतेको पहिरोले चामे-बेँसीसहर सडक अवरुद्ध छ। म्याग्दीको बैसेरी र लमजुङको खर्खरे भिरमा साउन १८ गतेको पहिरोले बेनी-जोमसोम र बेँसीसहर-मनाङ सडक बन्द गराएको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको रिजेगार्ड खोलामा साउन ६ गतेको बाढीले जाजरकोट-डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध छ।
