अविरल वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध पारेको छ। प्रहरी प्रधानकार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका सडकखण्ड प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन बन्द गरिएको छ। यो सडकखण्ड बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सञ्चालन हुनेछ।
मकवानपुरको कान्ति लोकपथमा अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीले वैकल्पिक सडक रहेको जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटानले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरोले बेँसीसहर–मनाङ सडक अवरुद्ध छ। मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो।
चितवनमा इच्छाकामना गाउँपालिका–५ सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। गएराति करिब १०:२५ बजेको पहिरोले नारायणगढ–काठमाडौँ सडकखण्ड बन्द भएको थियो। पाँच वटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रहरीले पुष्टि गर्यो।
निरन्तरको वर्षाले पहिरो खस्ने, बाढीले सडक कटान गर्ने क्रम जारी छ। प्रहरीले यात्रा गर्ने सडकको अवस्था बुझी सतर्कता अपनाउन आग्रह गरेको छ।
