पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ बगुवनमा मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षाले कम्तीमा २० घरको छाना उडाएको छ। हावाहुरीले १५ घरका जस्तापाता र फुसका छाना उडाउँदा अन्नपात, खाद्यान्न र लत्ताकपडा भिजेर नष्ट भएका छन्।
छाना उडेपछि परेको मुसधारे पानीले घरभित्रका अन्नपात र लत्ताकपडा पूर्ण रूपमा भिजेका छन्। यसले गर्दा प्रभावित परिवारलाई बिहानको छाक टार्न र बस्न समस्या भएको छ। बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानी ट्याङ्की हावाहुरीले ढालेर क्षतिग्रस्त बनाएको छ। ट्याङ्की भत्किएपछि विद्यालय र आसपासका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ।
हावाहुरीले विद्युतका पोल र तारमा क्षति पुर्याउँदा हिजो साँझदेखि नै सो क्षेत्रमा बिजुली आपूर्ति बन्द छ। विनयी त्रिवेणी गाउँपालिका-१ का वडाध्यक्ष दीपक पौडेलका अनुसार बगुवनमा १५ घर, सिसेनी गाउँमा ५ घर र अन्य केही स्थानमा पनि छाना उडेको विवरण छ। वडा कार्यालयले प्रहरी र स्थानीय प्रतिनिधिहरूको सहयोगमा क्षतिको थप विवरण सङ्कलन गरिरहेको छ। पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउन पहल थालिएको पौडेलले बताए।
