NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपालमा विदेशी लगानी भित्र्याउन चीनमा छलफल

बेइजिङमा नेपाली टोली र कार्यवाहक राजदूत रोशन खनालबीच नेपालमा विदेशी लगानी भित्र्याउने उपायबारे छलफल भएको छ। आगामी जुलाईमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) आकर्षित गर्न विशेष कार्यक्रम आयोजना गरिनेछ। नेपाल-चीन द्विपक्षीय आर्थिक सहकार्य र नेपाली उत्पादनको चिनियाँ बजार विस्तारका सम्भावनाबारे पनि कुराकानी भएको छ।
NM Khabar
NM Khabar
31 May 2026, 8:31 pm १ मिनेट पढाइ
आकार:
Share:

बेइजिङस्थित नेपाली दूतावासमा नेपाली टोली र कार्यवाहक राजदूत रोशन खनालबीच नेपालमा विदेशी लगानी भित्र्याउने उपायबारे छलफल भएको छ। चीनको चाइना वुमेन्स युनिभर्सिटी र चीन सरकारअन्तर्गतको निकायले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व तथा क्षमता विकास कार्यक्रममा सहभागी टोलीले दूतावासको भ्रमण गरेको हो।

साना, मझौला तथा ठूला उद्योगको विकास, विदेशी लगानी आकर्षित गर्ने रणनीतिका साथै द्विपक्षीय सहकार्यका विषयमा विचार आदानप्रदान भएको महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन्। कार्यवाहक राजदूत खनालले आगामी जुलाईमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले नेपाली उद्यमी तथा कार्यक्रमका सहभागीहरूलाई निम्तो दिएका छन्।

कार्यक्रममा चीनको विकास मोडल, विज्ञान तथा प्रविधि, डिजिटल नेतृत्व, प्रशासनिक सुधार र आर्थिक रूपान्तरणबारे प्रशिक्षण दिइएको छ। कार्यक्रममा चीन, नेपाललगायत विभिन्न देशका करिब ५० जना सहभागी छन्।

चीनले विज्ञान, प्रविधि र नीतिगत सुधारमार्फत हासिल गरेको विकास अनुभव बुझ्नु कार्यक्रमको उद्देश्य हो। विभिन्न देशका प्रतिनिधिबीच अनुभव साटासाट गर्ने अवसर पनि मिलेको छ। प्रशिक्षणपछि टोलीले चीनका अन्य सहरहरूको अध्ययन भ्रमण गर्नेछ।

कार्यवाहक राजदूत खनालले नेपाल–चीन आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन दूतावासले पहल गरिरहेको बताए। उनले नेपाली उत्पादन, विशेषगरी चिया, कफी तथा अन्य निर्यातयोग्य वस्तुहरूको चिनियाँ बजारमा विस्तारका सम्भावनाबारे पनि चर्चा गरेका थिए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार