पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार मध्याह्नतिर गएको हिमपहिरोले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीलाई सम्पर्कविहीन बनाएको छ।
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार हिमपहिरोपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक र पाँच नेपाली आरोही रहेका छन्।
मौसम अनुकूल भएमा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको छ। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायहरूसँग समन्वय गरी तत्काल उद्धार अभियान सञ्चालनको पहल गरिरहेको जनाएको छ।
क्लबले हेलिकोप्टर सहयोग सुनिश्चित गर्न र उपलब्ध स्रोतसाधन परिचालन गर्न प्रयास गरिरहेको छ। बेपत्ता आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै क्लबले उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका लागि चुनौतीपूर्ण मानिन्छ। निर्मल पुर्जाले सन् २०१९ मा ६ महिनाभन्दा बढी अवधिमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका थिए।
