गत वैशाख १ गतेदेखि यही साउन १४ गतेसम्म देशभर तीन हजार ९५१ विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा १९३ जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता छन्, एक हजार १६५ जना घाइते भएका छन् भने पाँच हजार ८७ परिवार प्रभावित भएका छन्।
यस अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना भएका छन्। त्यसपछि सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना दर्ता भएका छन्।
साउन १३ गते बिहान १० बजेदेखि साउन १४ गते बिहान १० बजेसम्म मात्रै देशभर ३४ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार गरिएको छ। यस एक दिनको अवधिमा मात्रै करिब ४१ लाख आठ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
सोही २४ घण्टाको अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन्।
यसैगरी, साउन १३ गते बिहान ८:४५ बजेदेखि साउन १४ गते बिहान ८:४५ बजेसम्म देशका विभिन्न भागमा अवस्थित ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा मापन भएको थियो। सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा अभिलेख गरिएको छ।
