परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा ‘नेपाल ई–एटेस्टेसन सिस्टम’को शुभारम्भ गरेका छन्। यसले कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनेछ।
नयाँ प्रणालीमार्फत सेवाग्राहीले अब जुनसुकै स्थानबाट अनलाइन आवेदन दिन सक्नेछन्। उनीहरूले आवेदनको अवस्था हेर्न, राजस्व तिर्न र प्रमाणीकरणका लागि अनलाइनबाटै अपोइन्टमेन्ट लिन सक्नेछन्। यो सेवा भदौ १ गतेदेखि सञ्चालनमा आउनेछ।
मन्त्री खनालले विगतमा कागजात अपुग वा त्रुटिपूर्ण हुँदा सेवाग्राहीले बारम्बार मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको स्मरण गरे। अब अनलाइन स्वीकृतिपछि मात्र विभागमा उपस्थित भए पुग्ने भएकाले प्रक्रिया छिटो, सहज र मितव्ययी हुने उनको विश्वास छ।
कन्सुलर सेवा विभागले विकास गरेको यो प्रणालीले सेवालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा छ। हुलाक सेवा विभागसँगको सहकार्यमा प्रमाणीकृत कागजात घरसम्मै पुर्याउने लक्ष्य राखिएको छ।
