राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा उच्च र दिगो आर्थिक वृद्धिका लागि संरचनात्मक सुधार र संस्थागत सुदृढीकरण अनिवार्य रहेको बताएका छन्। उनले २०५२/५३ सालतिर कुल गार्हस्थ्य उत्पादनमा २२-२३ प्रतिशत रहेको औद्योगिक क्षेत्रको हिस्सा अहिले १३ प्रतिशतमा झरेको उल्लेख गर्दै यसलाई प्रमुख चुनौतीका रूपमा औंल्याए। विकास, सुशासन र लोकतन्त्रबिचको सन्तुलन मिलाएर अघि बढ्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ।
डा. भट्टले आन्तरिक तथा बाह्य बसाइँसराइ र समयअगावै भएको ‘विऔद्योगिकीकरण’ लाई प्रमुख चुनौतीका रूपमा औंल्याएका छन्। यसबाहेक, अर्थतन्त्रको ४० देखि ४५ प्रतिशत हिस्सा अझै पनि अनौपचारिक क्षेत्रमा रहेको भन्दै यसलाई औपचारिक दायरामा ल्याएर राजस्व परिचालन र आर्थिक वितरणलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
उपाध्यक्ष भट्टले बजेटको आकारमा ठूलो वृद्धि भए पनि पुँजीगत खर्चको अनुपात निरन्तर घट्दै जानु चिन्ताजनक रहेको बताए। विगतमा कुल बजेटको दुईतिहाइ हिस्सा पुँजीगत खर्चमा विनियोजन हुने गरेकोमा हाल त्यो एकचौथाइमा सीमित भएको छ। सरकारको सामाजिक सुरक्षा, अनुदान र ऋणको साँवा-ब्याज भुक्तानीजस्ता अनिवार्य दायित्वहरू बढ्दै जाँदा विकास निर्माणका लागि स्रोत जुटाउन कठिन भइरहेको उनको विश्लेषण छ।
डा. भट्टले नेपालको विकासका लागि ‘५–डी’ (डेमोक्रेसी, डाइभर्सिटी, डेमोग्राफिक डिभिडेन्ड, डिजिटाइजेसन र डायास्पोरा) को उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए। लोकतन्त्र, भौगोलिक विविधता, जनसाङ्ख्यिक लाभ, प्रविधिको प्रयोग र विदेशमा रहेका नेपालीहरूको सीप र पुँजीलाई एकीकृत गर्न सके उच्च आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिन नहुने उनको तर्क छ। उनले निजी क्षेत्रलाई बजेटको मुख्य लाभग्राही मान्दै सार्वजनिक र निजी दुवै क्षेत्रमा संस्थागत सुदृढीकरण र सुशासनको आवश्यकता औंल्याए, अल्पकालीन नाफाका लागि गरिने क्रियाकलापले दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी पनि दिए। साथै, डिजिटल कनेक्टिभिटीलाई वित्तीय क्षेत्रमा मात्र सीमित नगरी गैरवित्तीय क्षेत्रमा पनि विस्तार गर्नुपर्ने र यसले कार्यदक्षता बढाउनुका साथै राजस्वको दायरा फराकिलो बनाउने उनले उल्लेख गरे।
डा. भट्टले विगतमा भएका आर्थिक सुधारका कारण ७ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल भएको स्मरण गर्दै लगानीमैत्री वातावरण र संस्थागत सुधारलाई सँगसँगै लैजान सके पुनः उच्च आर्थिक वृद्धिको मार्गमा फर्कन सकिने विश्वास व्यक्त गरे।
