आज (असार २१) ललितपुरसहित १० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ। बाढी पूर्वानुमान महाशाखाले ललितपुर, मकवानपुर, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्लाका साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने जनाएको छ।
साना नदीका साथै नारायणी, त्रिशूली, बूढीगण्डकी, कर्णाली, महाकालीलगायत ठूला नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
देशभर मनसुनी वायुको प्रभावले वर्षाको गतिविधि बढेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिण र पश्चिमी भूभागमा सरदर स्थानको आसपास छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टासम्म भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
