भारतको सितामढीमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय बैठकले सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणमा जोड दिएको छ। दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारी सहभागी बैठकले यी समस्या समाधानका लागि संयुक्त प्रयासको आवश्यकता औंल्याएको छ।
शनिबारको बैठकमा नेपालका तर्फबाट इन्द्रदेव यादवको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थियो। प्रतिनिधिमण्डलमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, रामुराज कडरिया लगायतका सुरक्षा निकाय, भन्सार, वन तथा नापी कार्यालयका प्रमुखहरू थिए।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार बैठकमा भारतबाट हुने मदिरा तस्करी नियन्त्रण र नेपालतर्फ हुने लागूऔषध ओसारपसार रोकथामबारे गम्भीर छलफल भयो। सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदान प्रभावकारी बनाउने र संयुक्त समन्वय सुदृढ गर्ने सहमति भएको छ।
रौतहटका गौरसहित करिब एक दर्जन सीमावर्ती गाउँ भारतीय बाँधका कारण डुबानको उच्च जोखिममा परेको विषय बैठकको प्रमुख एजेण्डा थियो। नेपाली पक्षले तत्काल समाधानको माग गरेको छ।
वर्षौँअघि निर्मित बाँधको स्लुइस गेट बन्द गरी तटबन्ध विस्तार गर्दा पानी निकासको संरचना पुरिएको थियो। यसले सीमावर्ती नेपाली भूभाग तालजस्तै बन्ने खतरा बढेको भन्दै अधिकारीहरूले तत्काल स्लुइस गेट सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
सीमावर्ती क्षेत्रमा तस्करी र अवैध गतिविधि बढेको सन्दर्भमा यस्ता बैठकले नेपाल–भारत सुरक्षा सहकार्य मजबुत बनाउने विश्वास छ। सहभागी अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी व्यवस्था कायम गर्न संयुक्त प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
