नेपाल र भारतले सीमा क्षेत्रका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढाउने भएका छन्। देहरादुनमा शुक्रबार सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको १४औँ बैठकमा सीसीटीभीलगायतका आधुनिक उपकरण प्रयोग गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग, पारस्पारिक कानुनी सहायता, सीमापार आवागमन सहजीकरण र निगरानी संयन्त्र सुदृढीकरणबारे छलफल भएको थियो। विपद् व्यवस्थापन तथा जिल्लास्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि दुई पक्षबीच सहमति जुटेको छ।
कार्यदलको बैठकको नेतृत्व नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतका तर्फबाट गृह मन्त्रालयकी संयुक्त सचिव पौसुमी वासुले गरेका थिए। कार्यदलको १५औँ बैठक नेपालमा आयोजना गरिनेछ।
