अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (शनिबार) भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन्। भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघ (सीआईआई) को मुख्यालयमा आयोजना हुने ‘राउन्ड टेबल’ छलफलमा सम्बोधन गर्ने कार्यक्रम छ। शनिबार बिहान साढे ९ बजे सुरु हुने उक्त छलफलमा उनले भारतीय उद्यमीहरूलाई नेपालमा लगानीको अवसरबारे जानकारी गराउनेछन्।
परिसंघकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
सो अवसरमा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र पहिले नै लगानी गरिसकेकाहरूलाई लगानी विस्तार गर्न आग्रह गर्नेछन्।
नेपाल सरकारको लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितता जस्ता विषयमा पनि उनले भारतीय उद्योगीहरूलाई स्पष्ट पार्नेछन्।
सीआईआईका अनुसार, छलफलमा परिसंघका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरी लगायत करिब दुई दर्जन भारतीय उद्योगपतिहरूको सहभागिता रहनेछ।
