देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसले देशैभरि सामान्य बदली गराएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
वर्षापछि ती क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्न सक्नेछ।
