लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले घर भत्किँदा बाबुछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार, कुलो भत्किएर आएको बाढीसँगैको पहिरोले विष्णु दत्त सुवेदीको घरमा बस्दै आएका टीका विक परिवारलाई पुरेको थियो। पहिरोमा परी ५९ वर्षीय टीका विक र उनकी १५ वर्षीया छोरी बिनिता विकको उपचारका क्रममा मृत्यु भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो। गम्भीर घाइते टीकाकी श्रीमती सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा सडकमा ब्रेक फेल भई ट्रक पल्टिएर आगलागी हुँदा चालकको ज्यान गएको छ। विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको को १ ख ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर पल्टिएको थियो। ठक्करपछि ट्रकमा अचानक आगलागी भएको थियो। आगलागीमा परी भोजपुरका ३० वर्षीय ट्रक चालक विशाल राईको जलेर मृत्यु भएको Nmkhabarलाई प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमका १८ वर्षीय सञ्जीव सङ्ग्रौला भने सकुशल छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
