नेपाली सेनाले प्रकृति संरक्षणमा ५० वर्षको योगदान दिँदै ११६ जनाको ज्यान गुमाएपछि विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ) ले विशेष सम्मान प्रदान गरेको छ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार यो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट सम्मानित भएका थिए।
बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाट सम्मानित भएको थियो।
नेपाली सेना विसं २०३२ (सन् १९७५) बाट राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ। हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा आठवटा गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय तैनाथ छन्।
यी युनिटहरूमा करिब हजारभन्दा बढी फौज निरन्तर परिचालित छन्।
सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ पुगेको छ। सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङ्गे गैँडाको सङ्ख्या हाल ७५२ मा वृद्धि भएको छ।
जटिल भौगोलिक बनावट, मौसमी प्रतिकूलता र विषम परिस्थितिका बाबजुद सेनाले प्रकृति र पर्यावरणको संरक्षणमा सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्दै आएको छ। यसक्रममा हालसम्म ११६ जना नेपाली सेनाले ज्यान गुमाएका छन्।
