भारतीय जेलमा थुनािएका सर्लाहीका दुई नेपाली किसानको अविलम्ब रिहाइको माग गर्दै नेपाली कांग्रेसले सरकारसँग तत्काल कूटनीतिक पहलको आग्रह गरेको छ। रासायनिक मल खरिद गर्न सीमावर्ती भारतीय बजार पुगेका किसान पक्राउ परेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
कांग्रेसका अनुसार सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा थुनािएका छन्। समयमै रासायनिक मल नपाएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवरसाबाट दुई बोरा युरिया र डीएपी मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो।
पार्टीले किसानहरू आफ्नै खेतीका लागि आवश्यक मल लिन गएको अवस्थामा पक्राउ पर्नु दुःखद र विडम्बनापूर्ण भएको ठहर गरेको छ। मलको अभावले किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने कांग्रेसको भनाइ छ।
कांग्रेसले नेपाल सरकारलाई किसानहरूको रिहाइका लागि कूटनीतिक, कानुनी र व्यवहारिक पहल तत्काल अघि बढाउन आग्रह गरेको छ। साथै, भारत सरकारसँग नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दै मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गर्न अनुरोध गरेको छ।
दुई देशबीचको सम्बन्ध सरकार–सरकारमा मात्र सीमित नभई जनस्तरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै कांग्रेसले यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।
