एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार बल्खुमा आयोजित ३३औं मदन-आश्रित स्मृति दिवस समारोहमा अनुपस्थित रहे। पार्टी मूल नेतृत्वमा स्थापित भएयता हरेक वर्ष बल्खु पुग्ने ओलीको यो अनुपस्थिति अर्थपूर्ण मानिएको छ।
ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कार्यक्रमको अध्यक्षता गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन्।
भण्डारीको पार्टी सदस्यता ओलीको नेतृत्वलाई चुनौती दिएको भन्दै खोसिएको थियो। यसपटक उनलाई पहिलोचोटि पार्टीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनाइयो।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उप-महासचिव योगेश भट्टराईसहित अधिकांश शीर्ष नेता बल्खु पुगेका थिए।
२०७२ को भूकम्पले बल्खु मुख्यालय भत्कायो। हाल च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट कार्यालय सञ्चालन हुँदै आएको छ।
गत चैत १४ गते जेनजी आन्दोलनमा सरकारी पक्षबाट भएको हत्यामा दोषी आरोपमा ओली निवासबाटै पक्राउ परे। उनी १३ दिनपछि चैत २६ गते पत्नी राधिकाको जिम्मामा रिहा भए।
चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा उनको पित्तथैलीको पत्थरीको शल्यक्रिया गरी २२ एमएमको पत्थरी निकालियो। वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएर गुण्डु फर्किएयता ओली सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
शनिबार बोलाइएको सचिवालय बैठक पनि ओलीले सोमबार बस्ने गरी पछि सारे। तर, उनी निवासमा भने राजनीतिक भेटघाटमा व्यस्त देखिन्छन्।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरूले पार्टी नेतृत्व छाड्न दबाब दिएपछि ओली दबाबमा परेका छन्।
श्रोतका अनुसार, सचिवालयमा ओलीको विपक्षमा बहुमत रहे पनि केन्द्रीय समितिमा भने उनी अझै बलिया छन्।
औपचारिक कार्यक्रममा सहभागी नभए पनि ओलीले सामाजिक सञ्जालमार्फत मदन-आश्रितलाई स्मरण गरेका छन्।
‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न प्रेरित गरिरहेकै छ प्रिय मदन-आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान।’
