काठमाडौं – प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म विपक्षी दलहरूले विरोध चर्काउने भएका छन्। सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले यही मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको कार्यशैली र प्रधानमन्त्रीले संसद्लाई गरेको बेवास्ताको सशक्त विरोध गर्ने निर्णय गरेको हो।
बैठकपछि एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको कार्यशैली, संसद्प्रतिको उपेक्षापूर्ण व्यवहार र सभामुख डोलप्रसाद अर्यालको भूमिकाबारे छलफल भएको बताए। महरले संसदीय मूल्यविपरीत विपक्षीको आवाज दबाउने, पेलेर अघि बढ्ने सरकार र सभामुखको शैली गैर-लोकतान्त्रिक भएको टिप्पणी गरे।
विपक्षी दलहरूले सभामुख अर्याल अझै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता जस्तो देखिएको निष्कर्ष निकालेका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको र विपक्षीको विरोधलाई नजरअन्दाज गरेको विषयमा छलफल भएको बताए।
विपक्षी दलहरूले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्ने सहमति जुटाएका छन्। प्रधानमन्त्रीले संसद्मा आएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने उनीहरूको माग छ। यसअघि एक्लाएक्लै विरोध गर्ने दलहरूले अब साझा र सामूहिक रूपमा विरोध चर्काउने भएका हुन्।
छलफलमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए। श्रमसंस्कृतिका कुनै पनि प्रतिनिधि भने बैठकमा अनुपस्थित रहे।
