प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयक बहुमतले पारित भएको छ।
बिहीबारको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ प्रस्ताव बहुमतले स्वीकृत भयो।
सभामुख डोलप्रसाद अर्यालले विधेयकका २ देखि ११ सम्मका दफा निर्णयार्थ प्रस्तुत गरेका थिए। सांसदहरूले विनियोजन शीर्षकमा राखेका खर्च कटौतीका प्रस्ताव भने बहुमतले अस्वीकृत भए।
अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए।
विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते सभामा छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिए।
प्रतिनिधि सभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।
