संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।
आजको बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन् ।
अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३-०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसबाहेक, बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयनबारे जानकारी गराउने र वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएकोबारे सभालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
