प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति र जवाफ माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि मंगलबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी सांसदहरूको चर्को नाराबाजी र अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची अघि बढाउने प्रयास गरे पनि अन्ततः बैठक स्थगित गर्न बाध्य भएका हुन्।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर समसामयिक र सार्वजनिक सरोकारका विषयमा स्पष्टीकरण दिनुपर्ने अडान राखेका थिए। उनीहरूले प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरेको आरोप लगाएका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र छलफल भएको विषयमा उहाँ जानकार रहेको जानकारी गराए। ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहुन्छ’, उनले भने।
तर, विपक्षी सांसदहरू आफ्नो मागबाट पछि नहटेपछि र आसन ग्रहण नगरेपछि सभामुख अर्यालले होहल्लाकै बीच बैठक अघि बढाएका थिए। विपक्षीको विरोध जारी रहँदा पनि सभामुखले सदनको कार्यसूचीमा रहेको ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई अघि बढाएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसद्मा उठेका प्रश्नहरूको जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सरकारले प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाइन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताए। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गरे।
