मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सांसदहरूको माग: बाढी, हुरी र जङ्गली जनावर पीडितलाई तत्काल राहत

बाजुरामा बाढीले ३०० रोपनी बगर बनाएको र कैलालीमा हुरीले ८४ घरको छाना उडाएको विवरण प्रस्तुत गरियो। सांसदहरूले विपद् जोखिम न्यूनीकरण र मानव-जङ्गली जनावर द्वन्द्व व्यवस्थापनमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१७०

बाजुराको बूढीनन्दा नगरपालिका–१ का पार्तोला र मटेला बस्तीमा जेठ १४ गतेको बाढीले करिब ३०० रोपनी जग्गा बगरमा परिणत गर्‍यो। सोही बाढीले ५० घरमा पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य भएको नेपाली कांग्रेसका सांसद जनकराज गिरीले आइतबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए। उनले तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सोही दिन कैलालीमा आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकाका २५, जानकी गाउँपालिकाका ६ र बर्दगोरिया गाउँपालिकाका ५३ गरी ८४ घरको छाना उडाएको थियो। टीकापुरमा एक विद्यालयको छाना पनि क्षति भएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विपद्पीडित नागरिकलाई तत्काल राहत दिन आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेखको भैरवी गाउँपालिकाका स्थानीय जङ्गली बँदेलको आतङ्कले हैरान भएको बताए। उनले जङ्गली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गरे।

कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५/१५ मिटर क्षेत्रभित्रका संरचना हटाउने सङ्घीय सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले १५ लाखभन्दा बढी नागरिक त्रसित बनेको जनाए। उनले उक्त नीति परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले गत भदौ २४ गतेको घटनामा केही युवालाई झुटा मुद्दामा फसाइएको बताइन्। उनीहरूका परिवारजन माइतीघर मण्डलामा १८ दिनदेखि धर्नामा बसिरहेको स्मरण गराउँदै बानुले माग सम्बोधन गर्न माग गरिन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार