पोखरा बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। ग्यास नपाएर उपभोक्ताहरू भौंतारिइरहेका छन्। ग्यास डिपोहरूमा लामो लाइन लाग्ने गरेको छ।
ग्यास उद्योगीहरूका अनुसार भारतबाट हुने ग्यास आयातमा कमी आएको छ। यसले अभाव सिर्जना गरेको छ। उपभोक्ताले आवश्यकभन्दा बढी सिलिन्डर भरेर राख्दा समस्या थपिएको छ। मध्यपूर्वको द्वन्द्वको हल्ला चलेपछि कतिपय उपभोक्ताले एकभन्दा बढी सिलिन्डर मौज्दात राख्न खोजे। यसले अभाव झनै बढाएको छ।
एलपी ग्यास बिक्रेता संघ कास्कीका पूर्व अध्यक्ष नारायण पौडेलका अनुसार पहुँच भएका उपभोक्ताले बढी सिलिन्डर थुपारेका छन्। यसले पहुँच नभएका उपभोक्तालाई समस्या पारेको छ। पौडेलले भने, ‘आधा सिलिन्डर हुँदा अहिले भन्दा दोब्बर संख्यामा ग्यासका सिलिन्डर जाने गरेका थिए। पूरा सिलिन्डर पठाउँदा केही अपुग भएको हो।’
पौडेलका अनुसार सरकारी अपरिपक्वताले यो अवस्था आएको हो। उनले भने, ‘मध्यपूर्वको द्वन्द्वलाई लिएर चैतमा आधा ग्यास भरिएको सिलिन्डर पठाइयो। बैशाख–जेठमा पर्याप्त ग्यास आयो। तर, भरि सिलिन्डर दिइएन। लामो समय आधा सिलिन्डर दिएको र त्यो सकिएपछि अहिले अभाव देखिएको हो।’ भरि सिलिन्डर पाएको बेला उपभोक्ताले चाहिनेभन्दा बढी मौज्दात राखे।
एलपी ग्यास बिक्रेता संघ कास्कीका नारायण दाहालका अनुसार भारतको ग्यास रिफाइनरी सेन्टरमा समस्या छ। यसले पोखराका लागि आयात घटाएको छ। दाहालले भने, ‘पोखराका लागि लोड कम भएको छ। उपभोक्ताले भरि सिलिन्डर पाएपछि मौज्दात राख्न थाल्दा समस्या थपिएको हो।’ काठमाडौंलाई बढी प्राथमिकता दिँदा पोखरा बाहिर ६० प्रतिशत लोड कम भएको उनले बताए।
गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीमराज लामिछानेले भारतबाट ग्यास आयातमा कमी आएको पुष्टि गरे। उनले भने, ‘एकसाता देखि लोड केही घटेको हो। दिनको २ देखि ३ गाडी (बुलेट) पाउँथ्यौं। अहिले चार गाडीको माग छ। तर, दिनमा एक–दुई गाडी मात्र आएको हो।’ यो अभाव आगामि सातादेखि समाधान हुने अपेक्षा उनले व्यक्त गरे। एक बुलेटबाट १२ सयदेखि १५ सय सिलिन्डर भरिन्छ।
अर्का एक उद्योगीका अनुसार भारतमा भएको आन्दोलन र रिफाइनरी सेन्टरको समस्याले पोखराका लागि लोड कम भएको हो। काठमाडौं केन्द्रीत ढुवानी बढी हुँदा पोखराका लागि लोड झन्डै आधाले घटेको छ।
पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनीले आफ्नै प्लान्टमार्फत ग्यास भरेर बजार पठाउँछन्। १७ वटा कम्पनीले पोखरामा ग्यास बिक्री गर्छन्। पोखरामा जाडोमा मासिक डेढ लाख र गर्मीमा १ लाख ४० हजार सिलिन्डर खपत हुन्छ। लेकसाइड क्षेत्रमा सबैभन्दा बढी ग्यास खपत हुन्छ।
