आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपी अर्याल प्रधानमन्त्री बालेन शाहलाई असफल बनाउन मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्। सरकार गठन भएको ६ महिना नपुग्दै रास्वपाभित्रैबाट प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको साहले टिप्पणी गरे।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य दलबाट कुनै खतरा नभए पनि रास्वपाभित्रैबाट असफल बनाउने षड्यन्त्र रचिएको र त्यो छिट्टै जनताले थाहा पाउने बताए। उनले रास्वपाका नेताहरूको विदेश भ्रमणमाथि पनि शंका व्यक्त गरे।
रास्वपा नेताहरूको विदेश भ्रमणमाथि शंका
पूर्वमन्त्री प्रभु साहले रास्वपाका सभापति रवि लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पुनः धार्मिक यात्राका लागि भारत प्रस्थान गरेको प्रसंगलाई शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको ‘कोर टिम’ को बारम्बारको भारत भ्रमणलाई सामान्य रुपमा हेर्न नहुने बताए।
साहका अनुसार, रास्वपाको ‘कोर टिम’ ले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको छ। उनले रास्वपाको पार्टी पङ्क्ति अहिले चुनावमुखी मात्रै भएको र देशको बारेमा उनीहरूलाई कुनै चिन्ता नभएको आरोप लगाए।
‘घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन,’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवसरवादी सोच भएकाहरुबाट सचेत हुनुपर्छ।’
साहले रवि लामिछानेसमर्थित घण्टी कार्यकर्ताहरु उग्र रहेको र सामाजिक सञ्जाल नै दूषित बनाएको टिप्पणी गरे। उनले घण्टीका कार्यकर्ताहरुलाई सामाजिक सम्बन्धको महत्व थाहा नभएकोले सञ्जालमा फोहोरी गालीगलौज गर्ने गरेको आरोप लगाए।
आजपा अध्यक्ष साहले रास्वपाको यस प्रकारको गतिविधिले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको र यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिए। उनले जनतालाई यस्ता अवसरवादी शक्तिबाट सचेत रहन आग्रह गर्दै आगामी दिनमा रास्वपाको वास्तविक नियत उजागर हुने दाबी गरे।
